चिप्लेटी (मकवानपुर)– सामान्य बिरामी हुदा पनि सिटामोलको अभाबमा पर्दै आएका हेटौंडा उपमहानगरपालिका–१५ चिप्लेटीका जनता गाउँमै औषधी सहित स्वास्थ्य सुबिधा पाउँने भएपछि दंग परेका छन् ।
छिमेकी बारा जिल्लाहुँदै जानुपर्ने गाउँमा उपमहानगरपालिकाले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएसँगै स्थानिय बासिन्दालाई सामान्य सिटामोलकै लागि बाराकै अम्लेखगञ्ज र रतनपुर सम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका हुन् । एउटा २ रुपियाँको सिटामोल लिन जानकै लागि ३ सय रुपियाँ सम्म अटोको भाडा तिर्नुपर्ने अवस्था थियो अहिले त्यो समस्याबाट मुक्त भएका छौं स्थानिय बुद्धिमाया स्याङबोले बताइन् ।
गाउँमा कामको व्यवस्था छैन, औषधिकै लागि लामो समय हिड्नुपर्ने बाध्यता थियो स्वास्थ्य केन्द्र सञ्चालनसँगै समस्याको समाधान भएको महशुस भएको उनले बताइन् । नगरपालिकाको बासिन्दा भएपनि स्वास्थ्य सुबिधाको महसुस गर्न नपाएका चिप्लेटीका बासिन्दा गाउँमै शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै निकै खुशी देखिएका छन् । रोजगारीको अभाबमा रहेका स्थानिय उपचारको अभाबमै ज्यान गुमाउन बाध्य रहेका थिए । ‘गाउँमा स्वास्थ्यको सुबिधा केही नहुँदा समस्या रहँदै आएका हामि अहिले निकै खुशी छौं ।’ लक्ष्मीमाया घलानले भनिन् ।उपचारका लागि टाढा सम्म धाउनुपर्ने बाध्यता थियो अहिले दुर्गम गाउँमै स्वास्थ्य सस्था सञ्चालनमा आउँदा निकै खुशी लागेको उनले बताइन् । सदरमुकाम हेटौंडाबाट करिब ३ घण्टाको सवारी यात्रामा बाराको अम्लेखगञ्ज हुँदै चिप्लेटी पुग्न सकिन्छ । करिब १६० घर परिवार रहेको चिप्लेटीबाट वडाकार्यालयमा सञ्चालनमा रहेको स्वास्थ्य केन्द्र सम्म आउँनका लागि ३ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । स्वास्थ्य सस्था टाढाहुँदा स्थानिय बासिन्दा सरकारी स्वास्थ्य सुबिधाबाट बञ्चीत रहँदै आएका थिए ।
उपमहानगरको सहयोगमा सञ्चालनमा आएको शहर स्वास्थ्य केन्द्रबाट खोपसेवा, वालस्वास्थ्यको उपचार, दादुरा रुवेलाको उपचार, गर्भवतीमहिलाको जाँच, पोषण कार्यक्रम सामान्य उपचार सेवा, टिभि, कुष्ट र औलोका औषधि सहितका सुबिधाहरु रहने हेटौंडा उपमहानगरका स्वास्थ्य शाखाका अधिकृत कृष्णकुमार यादबले बताए । स्वास्थ्य सुबिधाबाट बञ्चित रहँदै आएको नगरवासीको स्वास्थ्य सेवामा ध्यान दिर्दैे आएको छ । स्वास्थ्य केन्द्रको शुभारम्भमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले नगरवासीलाई न्युनतम आधारभुत सुबिधा दिनका लागि कहिले पछि नपर्ने बताइन् । लामो समयको दुखः पछि चिप्लेटीवासीले पाएको स्वास्थ्य सुबिधालाई स्तरबृद्धि गर्दै लैजाने तर्फ ध्यान दिने बताउँदै स्वास्थ्य केन्द्रमा औषधीको अभाब हुन नदिने प्रतिबद्धता जनाइन् ।
प्रतिक्रिया